काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
रातिको समयमा पनि देशभर बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
कोशीका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

