Harsamaya
सिरहाको गोलबजारमा दुई पक्षबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सिरहाको गोलबजारमा दुई पक्षबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएको छ। झडपमा परी करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।

बिहीबार मध्याह्न भएको झडपमा अर्का एक जना घाइते भएका छन्। घटनापछि गोलबजार क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षाकर्मीको बाक्लो परिचालन गरिएको छ भने सर्वसाधारणलाई कर्फ्युको पालना गर्न आग्रह गरिएको छ।

झडपका क्रममा प्रदर्शनकारीले एक ग्यारेजबाट निकालेर ११ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update