काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले बताएका छन्। दिउँसो देशका हिमाली भू-भागका थोरै स्थान तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।
कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुने सम्भावना छ।
मौसमविद्का अनुसार राति कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

