Harsamaya
सुनसरी घटनापछि प्रधानमन्त्री शाहको मध्यरातमा फेसबुक अपिल: ‘बदला होइन, संयम अपनाऔँ’
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय दिलाउने, दोषीलाई कानुनबमोजिम कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

मंगलबार मध्यराति फेसबुकमार्फत सार्वजनिक गरेको लामो सन्देशमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यही देशको नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु र घाइते हुनु कुनै पनि दृष्टिले सामान्य विषय नभएको उल्लेख गर्दै यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।

उनले सरकारले घटनाको सुरुवातदेखि नै आफ्नो उपस्थिति देखाए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्। अब यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णयहरू तत्काल अघि बढाइएको र सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते र प्रभावित सबैलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले नागरिकलाई आक्रोश, बदला र उत्तेजनाको भावनामा नबहकिई संयम अपनाउन आग्रह गरेका छन्।

मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो भन्दै उनले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा, दोषीलाई कारबाही र पीडितलाई न्याय तथा क्षतिपूर्ति दिलाउनु भएको उल्लेख गरेका छन्।

सामाजिक सद्भाव कायम राख्न सबैलाई प्रेम, सम्मान र संयमका साथ अघि बढ्न अपिल गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको उत्तेजना फैलाउने गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update