लमजुङ - लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ। घटनाका बेला धन्सारभित्र रहेका चार जना पहिरोमा पुरिएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा चारै जनाको उद्धार गरेको थियो।
उद्धारपछि उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएकोमा थप उपचारका लागि बिहान ४:१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक रहेका छन्। उनीहरू सबै हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा बसोबास गर्दै आएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

