Harsamaya
मल अभावले किसान जेलमा पुग्नु सरकारको असफलता - कांग्रेस 
काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले रासायनिक मल खरिद गर्न भारत गएका क्रममा पक्राउ परी भारतीय जेलमा रहेका सर्लाही बलराका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि सरकारसँग तत्काल पहल गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता प्रदीप पौडेलद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परी विगत २० दिनदेखि बिहारको सीतामढीस्थित डुमरा जेलमा रहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसले दुवै किसान व्यावसायिक तस्करीका लागि नभई आफ्नै खेतमा प्रयोग गर्न मल ल्याउने क्रममा पक्राउ परेको भन्दै उनीहरूको रिहाइका लागि सरकारले कूटनीतिक, कानुनी र व्यवहारिक माध्यमबाट तत्काल पहल गर्नुपर्ने माग गरेको छ।

विज्ञप्तिमा नेपालमा वर्षौंदेखि रासायनिक मलको अभाव दोहोरिँदै आएको, समयमै पर्याप्त मल उपलब्ध गराउन नसक्दा किसानले खेतीपातीको मौसममा सास्ती भोग्नुपरेको र सरकारको आपूर्ति व्यवस्थापन तथा योजनाको कमजोरीको प्रत्यक्ष असर किसानमाथि परेको उल्लेख गरिएको छ।

कांग्रेसले मल गोदाममा, किसान जेलमा पुग्नुपर्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गर्दै नागरिकको संरक्षण र सुरक्षा राज्यको पहिलो दायित्व भएकाले पक्राउ परेका किसानको रिहाइमा सरकारले तदारुकताका साथ पहल गर्नुपर्ने जनाएको छ।

साथै, भारत सरकारसमक्ष पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै केवल आफ्नो खेतीका लागि मल खरिद गर्न गएका किसानलाई मानवीय दृष्टिकोणबाट रिहाइ तथा आवश्यक कानुनी सहजीकरण गरिदिन कांग्रेसले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update