Harsamaya
चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना स्थित सडकखण्डमा स्कुटर र मिनी ट्रक एकआपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।

सोमबार बिहान करिब २:५८ बजे सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गुडिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ हरियालीका ४० वर्षीय दीपक नेपाल र पछाडि सवार चन्द्रागिरि–१४ की ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो।

प्रहरीका अनुसार दीपक नेपाललाई उपचारका क्रममा मृत घोषणा गरिएको थियो भने शुभद्रा कुमारी नेपाललाई बिहान ७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलंकीको नियन्त्रणमा रहेको छ। मिनी ट्रक र चालकलाई भने प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update