Harsamaya
प्रहरीको गोली लागेर एकको मृत्यु, १८ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने नौ प्रहरीसहित १८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा देवानगञ्ज–३ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। गोली लागेर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए।

प्रहरीका अनुसार नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारी पक्षका नौ जना गरी १८ जना घाइते भएका छन्। उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गएराति करिब साढे १० बजे बोलबम यात्राका लागि ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै गरेको एक समूह र होहल्लाको विरोध गर्ने अर्को समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले गोली चलाएको जनाएको छ।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update