काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस अहिले निरंकुश र हुकुमी शैलीमा सञ्चालन भइरहेको आरोप लगाएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको टिप्पणी गरेका हुन्।
कोइरालाले नेपाली कांग्रेसको स्थापना नै निरंकुश शासन अन्त्य र लोकतन्त्र स्थापनाका लागि भएको स्मरण गराउँदै अहिले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको बताए।
उनले भने, ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ। कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ।’
उनले पार्टी नेतृत्वलाई बीपी कोइरालाको विचार, सिद्धान्त र लोकतान्त्रिक संस्कृतिअनुसार अघि बढ्न आग्रह गर्दै व्यक्तिवाद र स्वार्थको राजनीतिले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिए।
कोइरालाले हाल सदस्यता नवीकरणका नाममा कुनै स्पष्टीकरण नै नदिई केही वडा सभापतिहरूलाई जिम्मेवारीबाट हटाइएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए। उनले यस्ता निर्णय पार्टीको विधान र लोकतान्त्रिक अभ्यासअनुकूल नभएको उल्लेख गर्दै यसले संगठनभित्र थप असन्तुष्टि सिर्जना गर्ने बताए।
उनले पार्टीभित्रको विवाद संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै सभापति गगन थापालाई पार्टीको एकता कायम राख्न अग्रसर हुन आग्रह गरे। साथै, बीपीको विचारलाई व्यवहारमा उतारेर कांग्रेसलाई लोकतान्त्रिक, विधिसम्मत र एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए।

