Harsamaya

काठमाडौं - नेपाली राजनीति र पत्रकारिता क्षेत्रका एक आदरणीय व्यक्तित्व हुन हरिहर विरही । जनकपुरमा विद्यार्थी जीवन बिताउँदादेखि नै लोकतान्त्रिक आन्दोलनको राप र तापमा होमिएका विरहीले जननायक बिपी कोइरालासँग लामो समय संगत गर्ने अवसर पाए ।

हर समयसँगको कुराकानीमा विरहीले बिपी कोइरालाको व्यक्तित्व, उनको राजनीतिक दूरदर्शिता र आफू पत्रकारितामा प्रवेश गर्नुको रोचक प्रसङ्ग उल्लेख गरेका छन् । विरहीको राजनीतिक यात्रा जनकपुरबाट सुरु भएको थियो । पञ्चायती व्यवस्थाको जगजगी भएको बेला राजा महेन्द्रको जन्मोत्सवको दिन (फागुन ७ गते) जनकपुरको जानकी मन्दिर अगाडि रहेको महेन्द्रको मूर्तिमा कालो मोसो दलेर उनले आफ्नो विद्रोही चेत प्रदर्शन गरेका थिए ।

सो कार्यमा उनलाई केशव कोइराला (जो पछि शहीद भए) र महन्थ ठाकुर (वर्तमान लोकतान्त्रिक समाजवादी पार्टीका नेता) ले साथ दिएका थिए । त्यसपछि उनी पहिलो पटक जेल परे । जेलबाट छुटेपछि विरही वि.सं. २०२७ सालमा बनारसमा निर्वासित जीवन बिताइरहेका बिपी कोइरालालाई भेट्न गए । त्यहीँ उनको भेट गणेशमान सिंह र शैलजा आचार्यसँग पनि भयो ।

विरही भन्छन,‘त्यो समय युवा जोश थियो । विमान अपहरणको घटनापछि मलाई पनि सशस्त्र क्रान्तिमै होमिनुपर्छ भन्ने लागेको थियो र बिपीसँग हतियार माग्न गएको थिएँ ।’ बिपीले विरहीको युवा जोशलाई देखेपछि उनलाई तुरुन्तै हतियार दिएनन् । केही दिन आफ्नो सामिप्यमा राखेपछि बिपीले विरहीलाई एक ऐतिहासिक सुझाव दिए । बिपीले भनेका थिए, ‘तिमी सशस्त्र क्रान्ति तिर होइन, प्रकाशन र प्रचार शाखातिर लाग । युद्धले एक पटक परिवर्तन त ल्याउला, तर त्यो परिवर्तनलाई दिगो बनाउन र जनमत तयार गर्न प्रेसको भूमिका बढी महत्त्वपूर्ण हुन्छ ।’

बिपीकै निर्देशनमा विरही तरुण पत्रिकाको सम्पादक मण्डलमा सामेल भए । बिपीले उनलाई भारतका प्रतिष्ठित सम्पादकहरूसँग परिचय गराइदिनुभयो र लेख्न उत्प्रेरित गर्नुभयो । बिपीले उनलाई बुझाएका थिए कि जनतालाई चेतनशील र जागरुक नबनाई आएको प्रजातन्त्र टिक्दैन । यसरी एक विद्रोही युवा बिपीको मार्गदर्शनमा पत्रकारिताको मार्गमा अघि बढे ।

विरहीले बिपीको उदारता र राजनीतिक सुझबुझको एउटा प्रसङ्ग स्मरण गरे । तत्कालीन कार्यवाहक सभापति सुवर्ण शमशेरले राजालाई भक्तिपूर्ण सहयोग गर्ने भनी दिएको वक्तव्यको विरोधमा विरहीले कलकत्ताको वार्ता पत्रिकामा ‘सुवर्ण शमशेरको आत्मसमर्पण’ शीर्षकमा कडा लेख लेखेका थिए । विरहीलाई लागेको थियो—बिपी यो लेख देखेर खुसी हुनेछन् । तर, बिपीले उनलाई कौसीमा लगेर सम्झाए ।

बिपीले भने, ‘तिमीले लेखेको कुराले म र सुवर्णजी बीच झन् फाटो ल्याउँछ । उहाँले राजासँग जुन नरम नीति लिनुभएको छ, त्यो मेरै सल्लाहमा भएको हो । नेताहरूबीचको रणनीतिक कुरा नबुझी टिप्पणी गर्दा आन्दोलनलाई घाटा पुग्छ ।’ यो घटनाले विरहीलाई नेतृत्वको मर्यादा र आन्तरिक रणनीतिको महत्त्व बुझायो ।

राष्ट्रिय मेलमिलापको नीति र राष्ट्रियताको चिन्ता
सिक्किम भारतमा विलय, अफगानिस्तानको अस्थिरता र इरानको संकट देखेपछि बिपीले नेपालमा पनि वैदेशिक हस्तक्षेप बढ्न सक्ने र राष्ट्रियता संकटमा पर्न सक्ने खतरा देखे । विरहीका अनुसार, बिपीले राजा र जनताबीचको द्वन्द्वले तेस्रो पक्षले फाइदा उठाउने डरले २०३३ सालमा ‘राष्ट्रिय मेलमिलाप’को नीति अघि सारेका थिए ।

बिपी भन्थे, ‘प्रजातन्त्र बिना राष्ट्रियता बलियो हुँदैन र राष्ट्रियता रहेन भने राजसंस्था पनि रहँदैन ।’ त्यही नीतिअन्तर्गत विरही पनि नेपाल फर्किए र जनकपुरमा पक्राउ परी १८ महिना रामेछाप जेलमा बिताए ।

बिपीको विचारको सान्दर्भिकता
विरहीका नजरमा बिपी केवल एक राजनीतिक नेता मात्र नभएर साहित्य, दर्शन र वैज्ञानिक चिन्तन भएका विलक्षण प्रतिभा थिए । बिपीले वि.सं. २००६ सालमै संविधानसभाको कुरा गरेका थिए, जुन दशकौँपछि मात्र साकार भयो । उनले राजतन्त्रलाई म्याद गुज्रिएको औषधिको संज्ञा दिएका थिए, जसले भविष्यमा राजतन्त्रको अन्त्य निश्चित छ भन्ने संकेत गथ्र्यो ।

वरिष्ठ पत्रकार विरही भन्छन,‘मैले जीवनमा धेरै नेताहरू देखेँ, तर आफ्नो वचन र निष्ठाप्रति बिपी जति इमानदार व्यक्ति अर्को पाइनँ । उनको विचार आज पनि उत्तिकै सान्दर्भिक छ र लामो समयसम्म रहनेछ ।’

बिपी कोइरालाको त्यही ‘कलम’ समात्ने सल्लाहले नै नेपालले हरिहर विरही जस्तो निर्भीक र तार्किक पत्रकार प्राप्त ग¥यो, जसले आज पनि बिपीको लोकतान्त्रिक मूल्य र मान्यतालाई जीवन्त राख्न कलम चलाइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update