काठमाडौं - सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जीको कार्यान्वयन तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा लिखित जवाफ माग गर्दै अर्को सुनुवाइ नभएसम्म पक्राउ पुर्जी यथास्थितिमा राख्न आदेश दिएको हो।
सांसद शाहले पक्राउ पुर्जी रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष सीताराम शर्मामाथि कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले कपिलवस्तु जिल्ला अदालतबाट शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

