नेपालगञ्ज - बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा १३ करोड ६१ लाख ३१ हजार ६९८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका अनुसार बरामद गरिएका सामग्रीमध्ये ११ करोड ७१ लाख ६३ हजार ४६४ रुपैयाँ बराबरका सामान भन्सार कार्यालयमा बुझाइएको छ। यस्तै, २२ लाख ४८ हजार रुपैयाँ बराबरको काठ बरामद गरिएको र ८५ लाख २३ हजार रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको जनाएको छ।
गणले ६० लाख ९६ हजार ६६३ रुपैयाँ स्रोत नखुलेको नगद तथा करिब २१ लाख रुपैयाँ बराबरका वन्यजन्तुसम्बन्धी ओखेटोपहार पनि बरामद गरेको छ। अवैध सामान ओसारपसारमा संलग्न २१ जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ट्रामाडोल १५ हजार ८७० ट्याब्लेट, नाइट्रोभेट ३ हजार ४० ट्याब्लेट, अफिम ५.५ केजी, ब्राउन सुगर, गाँजा, चरेस र खैरो हिरोइनसमेत बरामद गरिएको छ। लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न २२ जनालाई कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, मानव बेचबिखन नियन्त्रण अभियानअन्तर्गत जमुनाह नाकाबाट २३ जना महिलाको उद्धार गरिएको छ भने सो घटनामा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

