काठमाडौं - अभिनेता सरोज खनालले देशको आर्थिक र सामाजिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
मञ्जिला ब्युटी पार्लरको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म कुनै संस्था निरन्तर सञ्चालन हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गरे ।
उनले संस्थापक मञ्जिलाको नामको अर्थ ‘भाग्यमानी’ रहेको भन्दै त्यो भाग्यसँगै निरन्तरको मेहनत र समर्पणले संस्था यो उचाइमा पुगेको बताए ।
उनले भने, ‘१५ वर्षसम्म कुनै संस्था टिक्नु भनेको त्यसले केही राम्रो काम गरेको प्रमाण हो । मञ्जिलाजीलाई हार्दिक बधाई छ । उहाँले अब नयाँ उत्पादन पनि सार्वजनिक गर्नुभएको छ, यसले अझ सफलता प्राप्त गरोस् भन्ने शुभकामना छ ।’
खनालले ठूलो संख्यामा नेपाली पुरुष रोजगारीका लागि विदेशिन बाध्य भएकाले देशको जिम्मेवारी अहिले धेरै हदसम्म महिलाको काँधमा आएको उल्लेख गरे ।
उनले भने, ‘अबको नेपाल महिलाले चलाउने देश हो । लाखौं पुरुष विदेशमा पसिना बगाइरहेका छन् । देशभित्र बसेर उद्योग, व्यवसाय र उद्यममार्फत देश निर्माण गर्ने जिम्मा महिलाले नै सम्हालिरहेका छन्। देशको विकास भाषणले होइन, यस्ता उद्यमीहरूले गर्छन् ।’
कार्यक्रममा उनले नेताहरूको भाषणभन्दा उद्यम र उत्पादनले देशलाई अघि बढाउने धारणा व्यक्त गर्दै महिला उद्यमीहरूको योगदानको प्रशंसा गरे ।
यसै क्रममा खनालले युवा कवि नवराज पराजुलीको वैदेशिक रोजगारीको पीडा समेटिएको कविता वाचन गर्दै विदेशिएका नेपाली श्रमिकहरूको अवस्था अत्यन्त मार्मिक रहेको बताए।
उनले स्वदेशमै रोजगारी सिर्जना गर्न सकिए मात्र युवाहरू बाध्य भएर विदेश जानुपर्ने अवस्था अन्त्य हुने धारणा राखे ।
त्यस्तै उनले आफूले कुनै सौन्दर्य प्रसाधन प्रयोग नगर्ने उल्लेख गर्दै भने, ‘यदि अझ राम्रो देखिन चाहनुहुन्छ भने मञ्जिलाजीको उत्पादन प्रयोग गर्नुस् ।’
सरोज खनाल नेपालका ‘अमिताभ बच्चन’ : ऋषि धमला
त्यस्तै कार्यक्रममा चर्चित पत्रकार ऋषि धमलाले अभिनेता सरोज खनाल नेपाली चलचित्र क्षेत्रका सबै पुस्ताका दर्शकमाझ समान रूपमा लोकप्रिय र सम्मानित कलाकार भएको बताएका छन् ।
धमलाले सरोज खनालको योगदान र लोकप्रियताको प्रशंसा गर्दै उनलाई भारतका महानायक अमिताभ बच्चनसँग तुलना गरे ।
उनले नेपालमा सरोज खनालको नाम पनि भारतमा अमिताभ बच्चनको नाम जस्तै सम्मानका साथ लिइने बताए।
उनले भने, ‘सरोज खनाल नेपाली चलचित्र क्षेत्रमा अहिलेको पुस्ताले मात्रै होइन, जुनसुकै पुस्ताले त्यत्तिकै मन पराएको र रुचाएको व्यक्ति हुनुहुन्छ । जसरी भारतमा अमिताभ बच्चनको नाम लिइन्छ, त्यसरी नै नेपालमा सरोज खनालको नाम लिइन्छ ।’
१५ वर्षमा मञ्जिला ब्युटी पार्लरले धेरै प्रगती गरेको भन्दै उनले प्रसंसा गरे ।

