काठमाडौं - सरकारले लामो समयदेखि थन्किएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम पूरा गरेको छ। अब नयाँ लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरिने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको छ। यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको दैनिक ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै लाइसेन्स छापेर विभागलाई हस्तान्तरण भइरहेको मन्त्रालयले जनाएको छ।
सरकारले अब सातै प्रदेशसँग समन्वय गरी लाइसेन्स छपाइको व्यवस्था विस्तार गर्ने तयारी गरेको छ। साथै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपत्रजस्ता सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने योजना अघि बढाइएको छ।

