काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् ।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए ।
सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्वहरू तत्पर देखिएको भन्दै उनले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने उल्लेख गरे ।
सुशासन र जनपक्षीय काममा सरकारले धेरै ठुलो प्रगति गरेकाले त्यसलाई जनतामाझ पुर्याउन आवश्यक रहेको उनको भनाइ छ ।
त्यस्तै पराजुलीले आगामी दिनमा संसदलाई प्रभावकारी रूपमा अगाडि बढाउने र सांसदहरूलाई सशक्तीकरण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भएको जानकारी दिए ।
उनले आगामी दिनमा सबै पक्षसँग सहकार्य र संवाद गर्दै सबैको सहभागितामा जनपक्षीय कानुनहरू बनाउन सरकार र पार्टी दृढ रूपमा लागिपर्ने पनि बताए ।

