Harsamaya
धमाधम कर्मचारीले राजीनामा दिँदैछन्, प्रशासनिक संयन्त्रमा गम्भीर संकट आउँदैछ : सांसद बुढा (भिडियोसहित)
सांसद खडकबहादुर बुढा ।

काठमाडौं - सांसद खडकबहादुर बुढाले निजामती सेवाबाट अनुभवी कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेको अवस्थालाई मुलुकको प्रशासनिक संयन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्। उनले कर्मचारी पलायनको कारण तत्काल सम्बोधन नगरे राज्यको प्रशासनिक प्रणाली नै कमजोर बन्ने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बुढाले पछिल्ला दिनमा वरिष्ठ सचिवहरू बिदामा बस्ने, सहसचिवहरूले राजीनामा दिने र केही दिनभित्रै विभिन्न तहका गरी ५८४ जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएको विषय सार्वजनिक भएको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनका अनुसार ती राजीनामा दिनेमा ६ जना सहसचिव र १७ जना उपसचिव समेत रहेका छन्। यसलाई सामान्य घटनाका रूपमा लिन नमिल्ने भन्दै उनले प्रशासनिक प्रणालीमा ठूलो खाडल पर्ने खतरा औँल्याए।

भविष्य असुरक्षित भएकाले कर्मचारी पलायन
सांसद बुढाले कर्मचारीहरू सेवाबाट बाहिरिनुको मुख्य कारण सरकारले अघि बढाएको निजामती सेवा विधेयकको मस्यौदा भएको दाबी गरे।

उनले प्रस्तावित विधेयकमा रहेको ३० वर्षे सेवा अवधि र ५५ वर्षे अनिवार्य अवकाश सम्बन्धी व्यवस्थाले कर्मचारीहरूमा भविष्यप्रति अन्योल र असुरक्षा बढाएको बताए।

उनले भने, ‘कर्मचारीमा भविष्यको सुरक्षा छैन भन्ने चिन्ता बढेको छ। राजनीतिक हस्तक्षेप र काम गर्ने उपयुक्त वातावरणको अभावले पनि कर्मचारीहरू निराश बनेका छन्।’

योग्य कर्मचारी टिकेनन् भने राज्य कमजोर हुन्छ
सांसद बुढाले योग्य, दक्ष र अनुभवी कर्मचारीलाई सेवामा टिकाइराख्न नसके राज्यको प्रशासनिक क्षमता नै कमजोर हुने बताए।

उनले सेवा सुविधा, वृत्ति विकास र पेशागत सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गर्दै प्रशासन सुधारको नाममा अनुभवी जनशक्तिको मनोबल गिराउने काम नगर्न आग्रह गरे।

उनका अनुसार प्रशासनिक संयन्त्रलाई प्रभावकारी बनाउन नयाँ व्यवस्था ल्याउनु आवश्यक भए पनि त्यसले कर्मचारीलाई निरुत्साहित गर्ने अवस्था आउन नहुने बताए।

जाजरकोटका पहिरो पीडितप्रति श्रद्धाञ्जली
भाषणको सुरुवातमा सांसद बुढाले असार २८ गते अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोले पुरिएर ज्यान गुमाएकी ६० वर्षीया भूकम्पपीडित जयशिला शाहप्रति श्रद्धाञ्जली अर्पण गरे।

उनले २०८० सालको भूकम्पबाट प्रभावित जाजरकोटका धेरै नागरिक अझै अस्थायी आवासमै कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै सरकारले पुनर्निर्माणमा ढिलाइ गर्दा विपद्मा नागरिकले ज्यान गुमाउनुपरेको बताए।

‘जाजरकोटलगायत भूकम्प प्रभावित जिल्लाका नागरिकले कहिलेसम्म अस्थायी टहरामै बस्दै ज्यान गुमाइरहनुपर्ने हो?’ भन्दै उनले सरकारसँग प्रश्न गरे।

सांसद बुढाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, कर्मचारी पलायन रोक्न र भूकम्पपीडितको पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update