इलाम - लगातार दुई दिनको वर्षापछि मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिँदा सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द भएको छ। जोखिम बढेपछि सोमबारदेखि सडक अनिश्चितकालका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार यसअघि केही दिनदेखि ठूला सवारीसाधन चल्न सकेका थिएनन् भने आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको थियो। तर रातभर सडक थप भासिएपछि सबै सवारी आवागमन रोकिएको हो।
सडक अवरुद्ध भएसँगै इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ। दुवैतर्फबाट आएका मालवाहक ट्रक र अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्।
वैकल्पिक रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडक पनि जोगमाई खोलाको डाइभर्सन बाढीले बगाएपछि बन्द भएको छ। त्यस्तै, मेची करिडोरअन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाउँदा इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्ने अर्को मार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय इलामका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना डेढ महिनाअघि नै तयार भए पनि भारतबाट आउने बेलीब्रिजको सामग्री हालसम्म नपुग्दा स्थायी समाधान हुन सकेको छैन।
सडक पूर्ण रूपमा बन्द भएपछि अत्यावश्यक काममा निस्किएका यात्रुहरू पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन्। प्रशासनले निरन्तर वर्षाका कारण थप पहिरो र सडक भासिने जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

