धनगढी - बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत, सोही स्थानका ६० वर्षीय चक्र महत र केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी रहेका छन् ।
प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, ‘घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टर पठाइएको छ । घटनास्थल भौगोलिक रूपमा निकै विकट र टाढा भएकाले उद्धारमा समस्या भइरहेको छ।’
उनका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।
घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

