Harsamaya
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्नुपर्ने ?
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ।

काठमाडौं - सांसदहरुले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्दारमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा उनीहरुले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग समेत गरेका छन् ।

बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताइन् । 

उनले घटना घटेको लामो समय बितिसक्दा पनि राज्यका तर्फबाट घटनाको यकिन तथ्य र विवरण आउन नसक्नु अत्यन्तै खेदजनक रहेको बताइन् । थापाले कर्णाली राजमार्गको स्तरवृद्धिका लागि सरकारको ध्यानाकर्षण गराइन् । 

त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्दा र विपद्मा पर्दा राज्य अनुपस्थित रहने गरेको बताए । 

कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा उद्धारमा भएको ढिलाइबारे रुलिङको माग गरे । 

शाहीले कर्णालीका जनतामाथि विभेदपूर्ण व्यवहार हुँदै आएको भन्दै दुर्गम क्षेत्रका नागरिकप्रति समेत सरकार गम्भीर नदेखिएको धारणा राखे । 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update