Harsamaya
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’ 
नेपाली कांग्रेस केन्द्रीय कार्यालय।

काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यको समयसीमा फेरि थप्दै आगामी साउन ३ गतेसम्म पुर्‍याएको छ। यसअघि असार २० गतेसम्म तोकिएको समयसीमा वर्षायाम र सदस्यता प्रक्रियामा ढिलाइ भएको कारण देखाउँदै थप गरिएको हो।

महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले वडा र क्षेत्रीय तहमा आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि पर्याप्त सूचना प्रवाह गर्न समय आवश्यक परेकाले म्याद थपिएको जनाएको छ।

बैठकले सदस्यता अद्यावधिक र वितरणका क्रममा समस्या वा गुनासो आएमा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्न सक्ने व्यवस्था पनि गरेको छ।

यद्यपि, क्रियाशील सदस्यताको समयसीमा पटक–पटक थपिँदै जाँदा पार्टीभित्र विभिन्न अड्कलबाजी सुरु भएको छ। कतिपयले यो निर्णय पुराना सदस्यलाई समेट्ने उद्देश्यले गरिएको हो कि अपेक्षाअनुसार नयाँ क्रियाशील सदस्यता नबढेकाले म्याद लम्ब्याइएको हो भन्ने प्रश्न उठाएका छन्। 

यद्यपि, पार्टी नेतृत्वले भने म्याद थप्नुको कारण प्राविधिक तथा प्रक्रियागत सहजता मात्र भएको जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update