Harsamaya
डोल्पामा हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु, चार घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

आइतबार बिहान करिब ३ बजे आएको बाढी घरभित्र पस्दा घरमै सुतिरहेकी अन्दाजी ५५/५६ वर्षीया आनन्दा विक पुरिएकी थिइन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ भने अन्य तीन जना उपचारपछि घर फर्किएका छन्।

घटनाको तनावका कारण मृतकका आफन्त जुनमाया विक र दुर्गे विक पनि बेहोस भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रारम्भिक विवरणअनुसार बाढीले एक घर पूर्ण रूपमा ध्वस्त बनाएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा पुगेर उद्धार, राहत तथा क्षतिको विवरण संकलनको काम गरिरहेको छ।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update