Harsamaya
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाए - नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्ण सिटौला ।

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित संघीयता कार्यान्वयनमा प्रदेश संरचना : समसामयिक सम्वाद कार्यक्रममा नेता सिटौलाले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको र प्रशासन, न्यायालय, प्रहरी लगायत संवैधानिक निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका हुन् । 

देश अहिले कस्को नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको उनले बताए । 

नेता सिटौलाले नेपालमा  प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे । 

उनले विश्व राजनीतिको प्रभाव नेपालमा पनि रहेको र नराम्रो प्रभाव ज्यादा देखिएको धारणा राखे । राजनीतिक दलभित्र र राजनीतिक दलहरूको बीचमा अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको भन्दै सिटौलाले एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे । 

नेता सिटौलाले संविधान भनेको कुनै धार्मिक ग्रन्थ नभएकाले संविधानवादको विकासक्रममा संशोधन हुनुपर्नेमा जोड दिए । तर संशोधन गर्दा यसका मौलिक पक्षहरुलाई जोगाउदै कार्यान्वयनका क्रममा देखिएका त्रुटिहरुलाई सच्चाउनुपर्ने उनले बताए । 

नेता सिटौलाले अहिलेको राज्य व्यवस्थालाई साँगुरो घेराभित्र राख्ने कि जनताको पहुँच हुने गरी फराकिलो पार्ने भन्ने प्रश्न देखिएको भन्दै संघीयताको राम्रा पक्षलाई बचाएर र कमजोरीलाई हटाएर नै अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update