कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा भन्सार छली गरी लुकाइछिपाइ राखिएका सात लाख २० हजार रुपैयाँ बराबरका खाली ग्यास लाइटर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार १५ गते बिहान करिब ७:३० बजे कृष्णनगर नगरपालिका–२ ट्रान्समिटर टोलस्थित दुई घरमा अवैध सामान लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा नजिमुन निशाको घर र मोहम्मद साजिदको घरबाट ग्यास नभएका खाली लाइटरका ४८ हजार थान बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै घरबाट २४–२४ हजार थानका दरले लाइटर फेला परेको हो। बरामद लाइटरको अनुमानित मूल्य सात लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीया रेश्मा खातुन र २२ वर्षीय मोमताज अलीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रतिव्यक्ति २४ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। बरामद सामानबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

