काठमाडौं – रुपन्देहीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका ३५ वटा आईफोनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुराव रहेका छन्।
कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा उनले चलाउँदै आएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न मोडेलका ३५ वटा आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद आईफोनको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ। साथै करिब ८० हजार रुपैयाँ मूल्य बराबरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। यससँगै बरामद सामानको कुल अनुमानित मूल्य २० लाख ५० हजार रुपैयाँ पुगेको छ।
प्रहरीले आईफोन, मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

