Harsamaya
आशिका तामाङको गुनासो : पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान थिएन ‘मिडिया ट्रायल’को सिकार भएँ
सामाजिक अभियन्ता तथा रास्वपा सांसद आशिका तामाङ .

काठमाडौं - सामाजिक अभियन्ता तथा रास्वपा सांसद आशिका तामाङले पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे जानकारी नहुँदा आफूलाई अनावश्यक रूपमा ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले पार्टीको आफ्नै निर्वाचन आयोग हुने विषयमा आफू अनभिज्ञ रहेको बताउँदै त्यसलाई लिएर आलोचना गर्नु अनुचित भएको उल्लेख गरेकी हुन्।

‘मैले त फागुन २१ को निर्वाचनजस्तै चुनाव होला, उही निर्वाचन आयोगले गराउँछ भन्ने सोचेकी थिएँ। पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा थिएन,’ उनले लेखेकी छन्। ‘मेरो राजनीतिक जन्म भएको दुई महिना पनि राम्रोसँग पुगेको छैन। न मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न म स्वयं राजनीतिबाट आएको व्यक्ति हुँ।’

राजनीतिमा सिक्दै र बुझ्दै जाने प्रक्रिया स्वाभाविक भएको उल्लेख गर्दै तामाङले आफूले महाधिवेशनबाट एउटा कुरा स्पष्ट रूपमा बुझेको बताएकी छन्। ‘महाधिवेशनबाट मैले के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे, जनता नै रहेछन्, जता पनि,’ उनले भनेकी छन्।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update