Harsamaya

भैरहवा - जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा करिब ३८ लाख ५८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

प्रहरीका अनुसार असार ९ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी चोरी–पैठारी गरिएका ३८ लाख ५८ हजार ५० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवास्थित बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

मायादेवी गाउँपालिका–६ स्थित नेकहवाबाट करिब ३० लाख १७ हजार २ सय ४० रुपैयाँ बराबरका विभिन्न औषधिजन्य सामग्री, सुर्तीजन्य पदार्थ तथा दुई वटा मोटरसाइकल बरामद गरिएको छ। बरामद सामग्रीमा रिलिभो पेन किलर आयल, म्याग्नेसियम ग्लाइसिनेट, ग्लुटाथायोन, हाइड्रोलाइज्ड कोलाजेन, विरोपिल ट्याब्लेट लगायतका सामग्री रहेका छन्।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट १ लाख ३६ हजार ७ सय रुपैयाँ बराबरका बेल्ट, फ्रिजको कम्प्रेसर, आउटडोर मोटर, साडी तथा जुत्ता बरामद गरिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित ओडवलियाबाट ६ लाख ३० हजार रुपैयाँ मूल्य बराबरका २७ वटा पाडापाडी बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल चोकबाट २७ हजार १ सय ९० रुपैयाँ बराबरका किराना सामग्री बरामद गरिएको छ भने रोहिणी गाउँपालिका–४ स्थित हिपागाउँबाट ४० लिटर डिजेलसहित ७७ हजार रुपैयाँ बराबरको मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीले भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि चेकजाँच अभियानलाई निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update