रामेछाप - रामेछापमा असोज महिनामा विभिन्न प्रकृतिका २६ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार चोरी, भवितव्य ज्यान, झुन्डिएर मृत्यु, लागूऔषध सेवन, बाल यौन दुरुपयोग, जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारका मुद्दा दर्ता भएका हुन् ।
प्रहरीका अनुसार असोज महिनामा दर्ता भएका मुद्दामध्ये चोरीका १२, भवितव्य ज्यानका चार, झुन्डिएर मृत्युका तीन, लागूऔषध सेवनका दुई र बाल यौन दुरुपयोगका दुई मुद्दा छन् । त्यस्तै, जबर्जस्ती करणी, ठगी तथा आपराधिक विश्वासघात र अभद्र व्यवहारका एक–एक मुद्दा दर्ता भएका छन् ।
यी मुद्दामा संलग्न रहेको आरोपमा १४ जना प्रतिवादी पक्राउ परेका छन् भने दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले असोज महिनामा अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ ।
प्रहरीका अनुसार गत असार १८ गते राति खाँडादेवी गाउँपालिका–२ मझुवामा ८५ वर्षीय वृद्ध र ८६ वर्षीया वृद्धा आफ्नै घरमा सुतिरहेका बेला तीन जनाको समूहले ढोका फुटाएर प्रवेश गरेको थियो । उनीहरूको हातमुख बाँधेर र आँखामा पट्टी लगाएर ज्यान मार्ने धम्की दिँदै गहना तथा नगद लुटिएको प्रहरीले जनाएको छ ।
उक्त घटनासँगै रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फोडेर रकम चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरका विभिन्न स्थानबाट सुनचाँदीका गहना तथा नगदसहित असोज २० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनुसन्धानपछि रामेछाप जिल्ला अदालतको आदेशअनुसार प्रतिवादी पशुपति श्रेष्ठ, दीर्घराज मोक्तान र सुमन जर्घा मगरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । त्यस्तै, पिताम्बर गहतराज र गुणराज विश्वकर्मासँग जनही ५० हजार रुपैयाँ धरौटी माग गरी तारेखमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिका–१ लाछेवरमा दुई नाबालिका छोरीसँग बस्दै आएकी एक महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा फरार रहेका फुर्छिरी थामीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनलाई असोज ५ गते फितान्डिङबाट पक्राउ गरिएको हो । पक्राउपछि अदालतमा पेस गरिएका उनलाई अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता नशालु पदार्थ खुवाएर वृद्ध महिलालाई बेहोस बनाई सक्कली सुनका गहना चोरी गर्ने र नक्कली गहना लगाइदिने गरेको आरोपमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मन्थली नगरपालिका–६ कुनौरीकी ५४ वर्षीया विभा माझीलाई नशालु पदार्थ खुवाएर बेहोस बनाई सुनका गहना चोरी गरिएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले प्रविधिको प्रयोग गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसन्धानबाट रामेछापका तीन र दोलखाका दुई गरी विभिन्न जिल्लाका वृद्ध महिलालाई लक्षित गरी गहना चोरी गरिएको खुलेको विवरणमा उल्लेख छ । सो घटनामा पीडितको सङ्ख्या छ जना रहेको जनाइएको छ सो घटनामा पक्राउ परेका मुख्य प्रतिवादी मैया कार्कीबाट चार लाख ५० हजार रुपैयाँ, विश्वराम विश्वकर्माबाट एक लाख रुपैयाँ र बाँकी २ जनबाट २५ हजार र २० हजार रुपैयाँ अदालतले धरौटी माग गरी तारेखमा छाडेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा फैसला कार्यान्वयनतर्फ १० जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट सात वर्ष १० महिना २७ दिन कैद तथा ११ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको छ ।
लागूऔषध नियन्त्रणतर्फ दुई वटा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरिएको छ। एक जनाबाट ३० ग्राम गाँजाजस्तो देखिने पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा उम्रिएका गाँजाका बोटसमेत फँडानी गरी नष्ट गरिएको छ । प्रहरीका अनुसार विभिन्न स्थानमा रहेका गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत तीन रोपनी क्षेत्रफलमा रहेका ५० वटा बोट फँडानी गरिएको छ ।
असोज महिनामा रामेछापमा चार वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, असोज २२ गते प्रहरीले ४० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको थियो ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा चार वटा सवारीसाधन नियन्त्रणमा लिएर एक लाख पाँच हजार रुपैयाँ जरिवाना गराई आवश्यक कारबाहीका लागि पठाइएको विवरणमा उल्लेख छ ।
प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ। असोज महिनामा ३७ वटा कार्यक्रम सञ्चालन गरी एक हजार ६७३ जनालाई सहभागी गराइएको थियो। सहभागीमध्ये ८७६ जना विद्यार्थी रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राउतका अनुसार अघिल्लो महिनाको तुलनामा मुद्दा दर्ताको सङ्ख्या घटेको छ । जिल्लामा शान्ति सुरक्षा चुस्त बनाउन नियमित गस्ती, चेकिङ तथा अपराध नियन्त्रणका गतिविधिलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अपराध अनुसन्धानसँगै फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

