Harsamaya
मन्टेश्वरीका विद्यार्थी बोकेको अटो पल्टिँदा चालकसहित १४ जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - कैलालीको गोदावरी नगरपालिकामा विद्यालयका विद्यार्थी बोकेको अटो दुर्घटना हुँदा चालक, शिक्षिकासहित १४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान करिब १०:१५ बजे गोदावरी नगरपालिका–२ मोतिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालिका मन्टेश्वरी बोर्डिङ स्कुलको अटो अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा अटो चालक लम्कीचुहा नगरपालिका–१ निवासी ५९ वर्षीय जगत बिष्ट, विद्यालयकी ३० वर्षीया शिक्षिका तुला घर्ती तथा विद्यालयका विद्यार्थीहरू घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि लालरत्न अस्पताल, लम्की पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update