Harsamaya
२ करोड ६९ लाख मूल्यको भेपसहित एक जना पक्राउ 
सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भित्र्याइँदै गरेका ठूलो परिमाणका भेप (विद्युतीय चुरोट) बरामद गरेपछि ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोक प्रहरीले अवैध रूपमा भित्र्याइँदै गरेका ठूलो परिमाणका भेप (विद्युतीय चुरोट) बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार बिहान ५:३० बजे बाह्रबिसे नगरपालिका–३ खागदलस्थित इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले गोप्य सूचनाका आधारमा जाँच गर्दा तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ ल्याइएका ७ हजार ७ सय थान भेप बरामद गरेको हो।

प्रहरीले उक्त भेपसहित जुगल गाउँपालिका–४ निवासी ३६ वर्षीय रामकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएको भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, भेप ओसारपसारमा प्रयोग गरिएको प्रदेश ३–०१–०२४ च १२११ नम्बरको बोलेरो गाडी समेत बरामद गरिएको छ। गाडीको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको छ।

प्रहरीले भन्सार छली गरी अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यले राज्यको राजस्वमा क्षति पुर्‍याउनुका साथै संगठित अपराधलाई समेत प्रोत्साहन गर्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी जारी रहने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update