Harsamaya
पौडेल पक्राउ प्रकरणमा ओलीको प्रतिक्रिया, ‘डटेर सामना गर्छौं’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतमा रहेको अवस्थामा सरकारले ‘अपहरण शैलीमा’ पक्राउ गरेको आरोप लगाउँदै त्यसको कडा निन्दा र भर्त्सना गरेका छन् । 

ओलीले विज्ञप्ति जारी गर्दै पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेत पुगेको अवस्थामा गैरकानुनी ढंगले पक्राउ गरिएको दाबी गरे । उनले यसलाई विपक्षी दलमाथि भइरहेको ‘अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण’ कदमको निरन्तरता भएको उल्लेख गरेका छन्। 

ओलीले कानुनी प्रक्रियाअनुसार सोधपुछ गर्न सकिने विकल्प हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको आरोप लगाउँदै यसलाई ‘सस्तो राजनीतिक खपत’ का लागि गरिएको कदमको संज्ञा दिए । 

उनले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएका छन् । साथै सरकारका ‘लोकतन्त्रविरोधी गतिविधि’ विरुद्ध देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान गरेका छन् । 

यस्तो छ विज्ञप्तिः
नेकपा (एमाले) का उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।

नेकपा (एमाले) सदैव कानुनी राज्य‚ सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।

उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ ।

सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो 'स्टन्ट' र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ।

वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ, विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।

सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update