कास्की - पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ।
बसपार्क निर्माण अभियानअन्तर्गत महानगर र जग्गाधनीबीच भएको सहमतिपछि व्यवसायीहरूले सटर खाली गरेका थिए। महानगर प्रमुख धनराज आचार्यले व्यवसायी र सञ्चालकसँगको निरन्तर संवादपछि संरचना हटाउने सहमति जुटेको बताए ।
महानगरले बसपार्क क्षेत्रभित्र रहेका सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्थापन नगरी नहटाइने स्पष्ट गरेको छ। हाल ५७२ सुकुम्बासी परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भइसकेको र बाँकीको प्रक्रिया जारी रहेको महानगरले जनाएको छ।
बसपार्कका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको स्वामित्वबारे विवाद रहेकाले महानगरले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।

