Harsamaya
क्यान्सरका औषधि सहज हुने दाबी
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - विगत दुई महिनादेखि अभाव हुँदै आएको क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधि अब केही दिनभित्रै सहज रूपमा उपलब्ध हुने भएको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ लगायतका औषधिको आयात प्रक्रिया सहज बनाउन लागिएको छ। सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाइसकेकाले आपूर्ति नियमित हुने अपेक्षा गरिएको छ।

औषधिको अभावका कारण विभागले हालसम्म सीमित अस्पताल र फार्मेसीमार्फत मात्रै बिरामीलाई औषधि उपलब्ध गराउँदै आएको थियो। अब भने देशभर सहज पहुँच सुनिश्चित गर्ने तयारी भइरहेको विभागले जनाएको छ।

हाल नेपालमा ‘कार्बोप्लाटिन’ दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ। जबकि महिनामा करिब एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्ने विभागको तथ्यांक छ।

नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचार प्रभावित हुन नदिन महँगो मूल्यमा भए पनि औषधि आयात गरिरहेको बताउँदै एक महिनाका लागि पुग्ने ‘सिस्प्लाटिन’ भारतबाट नेपाल ल्याइँदै गरेको जानकारी दिए । 

भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका स्वास्थ्य संस्थामा पछिल्ला दुई महिनादेखि किमोथेरापीका औषधिको अभाव देखिएको थियो।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update