चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनका लागि उद्योगी–व्यापारीसँग चन्दा नउठाएको दाबी गरेको छ।
महाधिवेशनस्थल भरतपुरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका नाममा व्यापारी वा व्यावसायिक घरानालाई रसिद पठाउने पुरानो अभ्यास आफूहरूले अन्त्य गरेको बताए ।
‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ। महाधिवेशनका लागि भनेर कुनै व्यापारी वा घरानासँग चन्दा मागेका छैनौँ,’ उनले भने ।
रास्वपाले महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। उक्त रकम सांसद, केन्द्रीय सदस्य, विभागीय सदस्यबाट उठ्ने लेबी र महाधिवेशन प्रतिनिधिबाट संकलन गरिने प्रवक्ता झाले जानकारी दिए ।
उनका अनुसार सांसदहरूले मासिक १६ हजार ५०० रुपैयाँ लेबी बुझाउँछन्, जसबाट महिनामा करिब ३२ लाख रुपैयाँ संकलन हुन्छ। केन्द्रीय सदस्यले वार्षिक २५ हजार रुपैयाँ योगदान गर्ने व्यवस्था छ भने महाधिवेशन प्रतिनिधिबाट मात्रै करिब डेढ करोड रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ।
रास्वपाका नेता–कार्यकर्ताको आफ्नै पेशा र आम्दानीको स्रोत भएकाले चन्दा उठाउनुपर्ने अवस्था नरहेको उनले बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले यात्रा खर्च र बसोबासको व्यवस्था पनि आफैँ गर्ने उनको भनाइ छ।
‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेशा हुनुपर्छ। कसैसँग चन्दा मागियो भने उसले कुनै न कुनै लाभ खोज्छ,’ झाले भने ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदैछ।

