काठमाडौं - काठमाडौंको बालकुमारी क्षेत्रमा लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। पक्राउ परेकामध्ये एक जनाको खुट्टामा गोली लागेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार पक्राउ पर्नेमा कैलालीका २५ वर्षीय अशोक भुल, सप्तरीका २० वर्षीय निरजकुमार मण्डल र पर्साका ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका छन्।
प्रहरीले भारतको वासमतियाबाट काठमाडौंसम्म खैरो हेरोइन ल्याएर बिक्री गर्दै आएको समूहलाई निगरानी गरिरहेको थियो। शुक्रबार बालकुमारी पुलमुनि उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेको ब्यूरोले जनाएको छ।
प्रहरीले सुरुमा दुई राउन्ड हवाई फायर गरी रोक्न चेतावनी दिएको थियो। तर नरोकेपछि ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोली लागेका ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। पक्राउ परेकाहरूबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद भएको छ।
प्रहरीका अनुसार ओझैया यसअघि पनि लागूऔषध मुद्दामा सजाय भुक्तान गरी २०८२ पुस १७ गते मात्रै नक्खु कारागारबाट छुटेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

