Harsamaya
कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले परीक्षा सम्पन्न भएको ३५ दिनमै नतिजा प्रकाशन गरेको हो।  यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार लाख १८ हजार आठ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये पाँच हजार ३३९ विद्यालयका तीन लाख ३२ हजार १७८ जना नियमिततर्फका विद्यार्थी रहेका थिए।

परीक्षामा सहभागी नियमिततर्फका विद्यार्थीमध्ये एक लाख ७२ हजार १२ जना छात्र, एक लाख ६० हजार १३७ जना छात्रा तथा २९० जना अन्य लिङ्गका परीक्षार्थी रहेका बोर्डले जनाएको छ।

यस वर्ष देशभर एक हजार ४२० र जापानमा एक गरी कुल एक हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। सबैभन्दा धेरै १६१ परीक्षा केन्द्र काठमाडौँमा रहेका थिए भने मनाङ र मुस्ताङमा एक–एक वटा मात्र परीक्षा केन्द्र तोकिएको थियो।

विद्यार्थीहरूले बोर्डको वेबसाइटबाट आफ्नो नतिजा हेर्न सक्नेछन्। 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update