काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुकुमवासी बस्ती हटाउने क्रममा नेपाली सेनाको प्रयोग गरिएको भन्ने आरोप असत्य रहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सरकारले कुनै पनि स्थानमा सुकुमवासी बस्ती हटाउन नेपाली सेना परिचालन नगरेको बताएका हुन्।
सांसदहरूले सुकुमवासी बस्ती हटाउने क्रममा सेना किन प्रयोग गरियो भनी उठाएको प्रश्नको जवाफमा मन्त्री वाग्लेले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षा प्रबन्ध तथा सहजीकरणको भूमिका निर्वाह गरेको स्पष्ट पारे।
उनले मुलुकको भौगोलिक अखण्डता र सीमाको सुरक्षाका लागि राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेशअनुसार आवश्यकताअनुसार नेपाली सेनासहित अन्य सुरक्षा निकायको उपस्थिति रहने भए पनि सुकुमवासी बस्ती हटाउने कार्यमा सेना परिचालन नगरिएको दोहोर्याए।

