Harsamaya
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु
सवारी दुर्घटना । (फाइल फोटो)

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनामा देशभर २ हजार १२२ वटा सवारी दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा ५२६ जना गम्भीर र २ हजार ९०० जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा संलग्न सवारी साधनमध्ये मोटरसाइकल सबैभन्दा बढी रहेका छन्। जेठ महिनामा दुर्घटनामा परेका ३ हजार ९३० सवारी साधनमध्ये १ हजार ८६७ वटा मोटरसाइकल रहेका छन्, जुन कुल संलग्न सवारीको ४७ प्रतिशतभन्दा बढी हो। त्यसपछि जिप, कार तथा माइक्रो ४०७, टेम्पो २३८, साइकल २०६ र ट्रक, ट्यांकर तथा टिपर १९६ वटा दुर्घटनामा संलग्न रहेका छन्।

तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भएका छन्। उक्त अवधिमा ७८४ दुर्घटना भएका छन् भने साँझ ६ बजेदेखि मध्यरातसम्म ७५९ र बिहान ६ बजेदेखि १२ बजेसम्म ४८८ दुर्घटना भएका छन्।

दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गतिमा सवारी चलाउनु पहिलो स्थानमा रहेको छ। जेठ महिनामा भएका दुर्घटनामध्ये १ हजार ४५ दुर्घटना तीव्र गतिका कारण भएका छन्। त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा १२६, चालकको असावधानीका कारण १२५, हतारमा बाटो काट्दा ११६ तथा अनावश्यक ओभरटेक गर्दा ४३ दुर्घटना भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये १४५ पुरुष, ३४ महिला, १४ बालक र ६ बालिका रहेका छन्। गम्भीर घाइतेको संख्या ५२६ रहेको छ भने सामान्य घाइते २ हजार १०० जना पुगेका छन्।

यता ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक तथा सवारी साधनमाथि गरिएको कारबाहीबाट जेठ महिनामा १२ करोड ९ लाख १० हजार १३९ रुपैयाँ राजस्व संकलन भएको छ। सो अवधिमा १ लाख ४१ हजार ८८ वटा ट्राफिक कारबाही गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रहरीले तीव्र गति नियन्त्रण, ट्राफिक नियमको पालना, मादक पदार्थ सेवनपछि सवारी नचलाउने र सडक प्रयोगमा सतर्कता अपनाए दुर्घटना न्यूनीकरण गर्न सकिने जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update