Harsamaya

नवलपरासी - जिल्ला नवलपरासी (पूर्व)को कावासोती नगरपालिका–१४ हेगौलीमा बंगुरको मासु खाएर भोज खाएका १६ जना बिरामी परेका छन्।

स्थानीयका अनुसार हेगौलीका १०५ घरधुरीका मानिसहरूले शुक्रबार बंगुर काटी सामूहिक भोज खाएका थिए । भोज खाएको केही समयपछि ४४ वर्षीया रामकुमारी महतो सहित १६ जनामा ज्वरो आउने, बान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएको हो।

बिरामी परेकाहरूलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याई उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार सबै बिरामीको स्वास्थ्य अवस्थाबारे निगरानी राखिएको छ भने आवश्यक उपचार जारी छ।

घटनापछि स्वास्थ्यकर्मीले बिरामीको अवस्था तथा समस्या देखिनुको कारणबारे अनुसन्धान थालेका छन्। प्रारम्भिक रूपमा दूषित खाद्य पदार्थ सेवनका कारण समस्या भएको हुन सक्ने आशंका गरिएको भए पनि यकिन कारण खुल्न बाँकी रहेको जनाइएको छ।

स्थानीय प्रशासनले भोजमा प्रयोग गरिएको मासुको नमुना परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको तथा थप बिरामी देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update