Harsamaya
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपाको प्रदर्शन, माफी माग्नुपर्ने माग 
नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध नेकपाको प्रदर्शन ।

काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका हुन्।

प्रदर्शनमा जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय अखण्डताविरुद्ध भएको दाबी गरे । उनले पर्याप्त अध्ययन र तथ्यबिनै प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको आरोप लगाउँदै यसलाई राष्ट्रघाती भनाइको संज्ञा दिए ।

पाण्डेले विकसित लोकतान्त्रिक मुलुकमा यस्तो अभिव्यक्ति दिने प्रधानमन्त्रीले संसदबाट बाहिरिनेबित्तिकै राजीनामा दिनुपर्ने अवस्था आउने टिप्पणी गरे । 

उनले भने,‘प्रधानमन्त्रीले भारतले पनि मिचेको छ, हामीले पनि मिचेका छौं भनेर सांसदको उत्तर दिनुभयो । त्यो राष्ट्रिय अखण्डता विरुद्ध र कुनै कुरा नजानीकन केही कुराको अध्ययन नै नगरेको व्यक्तिले बोलेको झैं गरेर बोल्नुभयो । यो राष्ट्रघाती अभिव्यक्ति हो । देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलेपछि संसदबाट बाहिर निस्कने वित्तिकै राजीनामा दिएर निस्कनुपथ्र्यो ।’

उनले संसद छ दिनका लागि स्थगित भइसकेको उल्लेख गर्दै आगामी बैठकमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टीकरण दिनुका साथै माफी नमागेसम्म संसदको अवरोध हट्ने सम्भावना कम रहेको बताए ।

‘छ दिनको लागि संसद स्थगित भएको छ । फेरि संसद सुरु हुन लाग्दाखेरी पनि प्रधानमन्त्रीले संसदमा आएर नबोलेसम्म माफी नमागेसम्म संसद खुल्ने सम्भावना म देख्दिन ।’

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन, सार्वजनिक रूपमा माफी माग्न तथा राष्ट्रिय हित र अखण्डतासम्बन्धी विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update