काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्वले मात्र समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्न सकिने बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताएका हुन् ।
संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको प्रभावकारी कार्यान्वयन, समान अवसरको सुनिश्चितता तथा महिलाको आत्मनिर्भरता र सशक्तीकरण आजको प्रमुख आवश्यकता रहेको उनले बताए ।
उनले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको नेपाली दिदीबहिनी तथा आमाहरूमा शुभकामना दिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला आन्दोलन, सामाजिक रूपान्तरण तथा राष्ट्र निर्माणका विभिन्न चरणमा मंगलादेवी सिंह, योगमाया न्यौपाने, दिब्या कोइराला, साधना प्रधान तथा सहाना प्रधान लगायतका महिला नेतृत्वहरूले पुर्याएको योगदान सदैव स्मरणीय रहेको उल्लेख गरे ।
उनले महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

