Harsamaya
गणतन्त्रप्रति मौन वालेन्द्र शाह र रास्वपा
प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने ।

काठमाडौं - गणतन्त्र दिवसको औपचारिक समारोह यसपटक भाषणभन्दा बढी मौनताका कारण चर्चामा रह्यो । प्रधानमन्त्री वालेन्द्र शाहको मौनता र सामाजिक सञ्जालमा देखिएको अस्वाभाविक शून्यताले राजनीतिक वृत्तमा अनेक प्रश्न जन्माएको छ ।

टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह पत्नी सविना काफ्लेसहित सहभागी भए । तर, विगतमा प्रधानमन्त्रीहरूले गर्दै आएको सम्बोधन उनले गरेनन् । बरु समारोहलाई राष्ट्रपति राम चन्द्र पौडेलले सम्बोधन गरे । प्रधानमन्त्री कार्यालयकै आग्रहमा राष्ट्रपतिले सम्बोधन गरेको बताइएपछि यो निर्णयलाई सामान्य प्रोटोकलभन्दा फरक रूपमा हेरिएको छ ।

शाहको शैली राजनीतिक रूपमा सधैं परम्पराभन्दा फरक देखिँदै आएको छ । तर, गणतन्त्र दिवसजस्तो राज्यको प्रमुख राजनीतिक उपलब्धिसँग जोडिएको दिनमा उनको मौनता धेरैका लागि अर्थपूर्ण बनेको छ । अझ सामाजिक सञ्जालमा अत्यन्त सक्रिय रहने उनले यसदिन कुनै शुभकामना नदिनु चासोको विषय बनेको छ ।

नयाँ वर्ष, बुद्ध जयन्तीदेखि मातातीर्थ औंसीसम्म फेसबुकमार्फत सन्देश दिने शाहले गणतन्त्र दिवसमा भने कुनै प्रतिक्रिया जनाएनन् । यसले उनको मौनता केवल संयोग हो कि सन्देश भन्ने बहस सुरु भएको छ ।

रोचक के छ भने रास्वपा सभापति रवि लामिछाने पनि यसपटक उस्तै मौन देखिए । समारोहमा उपस्थित भए पनि उनले व्यक्तिगत रूपमा कुनै शुभकामना सार्वजनिक गरेनन् । सामाजिक सञ्जालमा सक्रिय लामिछानेको फेसबुक पनि दिनभर शान्त रह्यो ।

यद्यपि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक पेजमार्फत गणतन्त्र दिवसको शुभकामना पोस्ट गरेको थियो । तर शीर्ष नेताहरूको मौनताले गणतन्त्रप्रतिको दृष्टिकोण र राजनीतिक सन्देशबारे नयाँ चर्चा सुरु गराएको छ । 

गणतन्त्रका लागि लडेका दलहरूले भने गणतन्त्र दिवसको शुभकामना दिएका छन् । गणतन्त्र जस्तो नागरिक अधिकार प्रत्याभूत गर्ने शासनलाई रास्वपाले बेवास्ता गर्नुले रास्वपामाथि प्रश्न उब्जिएको छ । हुन त पछिल्लो समय राज्यका विभिन्न संरचनाहरू आफू मातहत राख्न प्रधानम्नत्री शाह उद्धत देखिएका छन् । कतै रास्वपा राजतन्त्रवादी बन्दै त छैन ? सामाजिक सञ्जालमा प्रश्नहरू देखिन थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update