सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । यस्तै, काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने अन्दाजी ४२ वर्षीया धमिला चौलागाईलाई नगर प्रहरीले काफल पोखाइदिँदै दुर्व्यवहार गरेको थियो
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सत्तापक्षको सांसदहरुले निरीह देखिएको बताए । छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो? भन्दै प्रश्न समेत उनले गरे । यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरु निलम्वन हुनपनि तयार रहेको बताएका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरु निलम्वन हुनपनि तयार रहेको बताएका हुन् ।
समाचार : काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका छन् । यता,
डोकोभरिको काफल प्रहरीले सडकमै पोखेदिएपछि पीडित महिलालाई वीरेन्द्र नगरपालिकाकी मेयरले १० लाख नगद सहयोग प्रदान गरेकी छिन् । सुर्खेतको वीरेन्द्रनगरमा एक महिलाले बिक्रीका लागि ल्याएको काफलको डोको नगर प्रहरीले सडकमै पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक विरोध भयो । सो घटनापछि नगरपालिकाकी मेयर मोहमाया ढकालले ती महिलालाई आफ्नै कार्यकक्षमा बोलाएर १० लाख सहयोग गरेकी छिन् । यस्तै, हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ । यही जेठ ५ गते बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । यता, चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।
अपराध : घुस लिएको आरोमा पक्राउ परेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी लिई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मङ्गलबार गरेको आदेशमा आज सार्वजनिक भएको लिखित आदेशमा उक्त धरौटी लिएर पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न उल्लेख छ । यता, सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो । यस्तै, प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । यता, प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
खेलकुद : आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । यता, मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
विश्व : इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ । यता, चीनका विभिन्न भागमा यस हप्ता परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार तथा निकासी अभियान सञ्चालन भइरहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, क्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।

