पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ । श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिए । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् । यता, सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रु. १५ हजार प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु. २ हजार प्रति महिनाको दरले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संसदीय अभ्यासमा पहिलोपटक अर्थमन्त्रीविना नै प्रि–बजेट छलफल भएको देखेको भन्दै सांसद सिंहले आपत्ति जनाए।
समाचार : नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ । काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । यस्तै, सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए । यता, पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो ।
अपराध : मुस्ताङमा भेप चोरी–पैठारी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले बिएई ४९२२ नम्बरको स्कार्पियोसहित सिन्धुपाल्चोकका दीपेश गदाल र रवीन्द्र दर्नाल लाई नियन्त्रणमा लिएको हो । यता, पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ । पर्सा प्रहरीले सोमबार राति संयोजक प्रसाईंलाई ‘जरुरी पक्राउ पुर्जी’ दिएर नियन्त्रणमा लिएको थियो । यस्तै, ‘जेनजी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते महोत्तरी कारागारबाट भागेका कैदीबन्दीमध्ये २५० जना कैदीबन्दी अझै फरार रहेका छन् । गत भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनको मौका छोपी भदौ २४ गते महोत्तरीको सदरमुका मजलेश्वर नगरपालिका–२ मा अवस्थित जलेश्वर कारागार तोडेर भागेका सबै ५७६ जना कैदीबन्दीमध्ये ३२६ जना फर्किसकेका छन् भने २५० जना अझै फर्किन बाँकी रहेको जेलर अशोककुमार क्षेत्रीले बता
अर्थ : इजरायल रोजगारीको सपना बोकेर विगत दुई वर्षदेखि पर्खाइमा रहेका योग्य उम्मेदवारहरू सरकारले आफ्नो पूर्वआश्वासनविपरीत कार्य गर्न खोजेको भन्दै सडक आन्दोलनमा उत्रिएका छन्। मंगलबार काठमाडौँको माइतीघरमा वैदेशिक रोजगार विभागको ढिलासुस्ती र नीतिगत अस्पष्टताका कारण चरम अन्योलमा परेको भन्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। यता, हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक मलका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए । यस्तै, काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।
खेलकुद : क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको विश्वकप टोलीमा समावेश गरिएको छ। यससँगै उनले कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने भएका छन्। पोर्चुगलले पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित ४१ वर्षीय रोनाल्डोलाई टोलीमा राखेको हो। यो रोनाल्डोको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। यता, पेप ग्वार्डिओला म्यानचेस्टर सिटीमा आफ्नो ट्रफीले भरिएको दशक लामो यात्रालाई यसै सप्ताहन्तमा अन्त्य गर्ने भएका छन्। ५५ वर्षीय ग्वार्डिओलाले सन् २०१६ मा इङ्ग्ल्यान्ड पुगेपछि सिटीलाई ६ वटा प्रिमियर लिग उपाधि र क्लबको इतिहासकै पहिलो च्याम्पियन्स लिगसहित कुल २० वटा ट्रफी जिताएका छन्।
विश्व : चीनमा लगातार परेको अविरल वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । दक्षिणी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । यता, जापानको अर्थतन्त्र सन् २०२६ को पहिलो त्रैमासमा अपेक्षाभन्दा सकारात्मक वृद्धि हासिल गर्न सफल भएको छ । सरकारी प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा देशको वास्तविक कुल गार्हस्थ उत्पादन वार्षिक आधारमा २.१ प्रतिशतले विस्तार भएको हो । यस्तै, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मुख्यतया देशको मोङ्ग्वालु, रुवाम्पारा र बुनिया स्वास्थ्य क्षेत्रहरू, साथै युगान्डाको कम्पालामा ३९५ वटा सङ्क्रमणका घटनाहरूमा १०६ जना सङक्रमितको मृत्युको रिपोर्ट गरिए पछि स्वास्थ्य आपतकालको आधिकारिक घोषणा गरेको जनाइएको छ ।

