Harsamaya
जेठ ४ : दुर्गा प्रसाईं पक्राउदेखि ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत रूपमा निर्वाचितसम्म
ग्राफिक्सः हर समय/Har Samaya

विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो ऐतिहासिक निर्वाचन भएको हो।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति  : एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले आज बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको जानकारी दिए । यता, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् । सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियतले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एक जनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताए । यस्तै,  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए । 

समाचार : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन् । यता, नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्‍याउने कार्य भएको ठहर गरेको छ । बारको आज बसेको आकस्मिक बैठकले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरु सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनी सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ परेका हुन्। यता, भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो ।

अर्थ  :  सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । यता, औद्योगिक तथा व्यापारिक नगरी पर्सामा १४ हजार १५६ वटा प्रतिष्ठानमा आर्थिक गणना सकिएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगञ्जले यहाँका २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ६१ प्रतिशत मात्रै आर्थिक गणना भएको जनाएको हो । यता, विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन् । मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् । उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए । यस्तै, कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ ।

अपराध : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समयअघि खाम्चालाई पक्राउ गरेको थियो । यस्तै, धनुषाको धनुषाधाम नगरपालिका - ८ बाट ठूलो परिमाणमा लागु औषधसहित एक जना युवक पक्राउ परेको छ । आइतबार बेलुका जिल्ला प्रहरी कार्यालय धनुषा ढल्केवर र लागुऔषध ब्यूरो शाखा कार्यालय वर्दिवास महोत्तरीबाट खटिएको संयुक्तटोलीले छापा मारेर विभिन्न लागुऔषधसहित धनुषाको गणेशमान चारनाथ नगरपालिका १का ३४ वर्षिय सन्तोष कुमार विश्वकर्मालाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ । यता, जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका बारा कलैया उपमहानगरपालिका वडा नं. ०६ बस्ने खुस्बु भन्ने अफजल मियाँलाई बिनासर्त छाड्न माग गर्दै एक समूह जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा पुगेको थियो।

खेलकुद : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । यस्तै, आइची-नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार मङ्गोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ । यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । यता, पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि कास्की र नवलपुर भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा कास्कीले स्याङ्जालाई र नवलपुरले तनहुँलाई पराजित गरी फाइनलमा स्थान बनाएका हुन् ।

विश्व : दक्षिणपश्चिम नाइजेरियाका तीन विद्यालयहरूमा भएको आक्रमणमा कम्तीमा ४६ जनालाई अपहरण गरिएको छ । दक्षिणपश्चिमी राज्यमा भएको आक्रमणमा अपहरणमा परेका दुईदेखि १६ वर्षसम्मका बालबालिकासहित ४६ जना रहेको ओयो राज्यका अध्यक्ष एलिशा ओलुकायोड ओगुन्डियाले सोमबार बताए ।  यता, माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ ।  यस्तै, विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शंकास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update