काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले स्वार्थ बाझिने गरि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । सर्वोच्चको आदेशप्रति रास्वपा सांसदहरुले विरोध जनाएपछि एमालेले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाएको छ ।
बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले स्वार्थ बाझिने गरि अदालतको आदेश आएको भन्दै आपत्ति जनाउनुभयो । उहाले अदालतका आफ्ना मर्यादा र सीमा रहने भन्दै अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको आरोप लगाए ।
त्यस्तै रास्वपा सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशले नै दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेश कतिको उचित हो भन्दै प्रश्न गरिन् । उनले राजनीति गर्न मन भए कोट खोलेर आउन कामु प्रधानन्यायाधीशलाई सुझाव दिइन् ।
यता एमालेका सांसद ऐन महरले भने अदालतमा विचाराधीन बिषयलाई सदनमा छलफल गर्न नपाउने व्यवस्था रहेको भन्दै रास्वपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
न्यायाधीश र अदालतको अपमान हुने गरि सदनमा पटक पटक अभिव्यक्ति आइरहेको भन्दै उहाले सभामुखको ध्यानाकर्षण गराए ।
यसअघि कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ सोमबार नै निवेदन दर्ता गरेर मंगलबारबा लागि पेसी तोक्न आदेश दिएको थियो ।

