Harsamaya
परराष्ट्र मन्त्रालयले नै अमृत झा रिहा भएको झुटो सूचना फैलाएपछि...
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - नेपालको परराष्ट्र मन्त्रालयले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको समाचार झूटो भएको बताएको छ । मन्त्रालयले झासम्बन्धी मुद्दा अझै इरानको स्थानीय अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको छ।

सरकारले नै वैशाख २ गते अमृत झा रिहा भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयले झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखेको समेत जनाएको थियो । 

वैशाख २ मा झा रिहा भएको सरकारको विज्ञप्ति

इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुल जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको छ। 

सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र निज झालाई आवश्यक प्रकृया पूरा गरी नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको छ।

१५ अप्रिल २०२६

झाको रिहाइ भएकोमा सरकार र परराष्ट्र मन्त्रालयको निकै तारिफसकेत गरिएको थियो । तर केही समयमा नै त्यो झुट सावित भयो ।  रिहा भएको समाचार आएको केही दिनमै झाका परिवारले अमृत रिहा नभएको र कुनै खबर पनि नआएको बताएका थिए । 

मन्त्रालयले समेत आज एक विज्ञप्ति जारी गर्दै अमृत झा रिहा भएको भन्ने सूचना अनौपचारिक रूपमा सार्वजनिक हुन जाँदा अन्योल सिर्जना भएको स्वीकार गर्दै त्यसप्रति क्षमा मागेको हो।

विज्ञप्तिअनुसार घटनासम्बन्धी एक्सपर्ट रिपोर्ट तयार गर्न गठित विज्ञ टोलीले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याएर अदालतमा बुझाउने तयारी गरिरहेको छ।

मन्त्रालयले इरानको कानुनअनुसार मुद्दाको टुंगो लाग्ने भएकाले उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गरी अमृत झाको निष्पक्ष सुनुवाइ र आवश्यक सहयोगका लागि पहल जारी रहेको जनाएको छ।

‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति

इरानको Qeshm Island मा अवैध सामान तस्करी एवम् ओसारपसारको आरोपमा पक्राउ परी हाल सोही मुलुकको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक श्री अमृत झाका सम्बन्धमा देहायबमोजिम जानकारी गराइएको छ:

क. अमेरिका-इजरायल र इरानबीच २८ फेब्रुअरी २०२६ मा द्वन्द्व सुरु हुनु अगावै जनवरी २०२६ को सुरुमा नेपाली नागरिक श्री झा र अन्य ६ जना विदेशीहरूलाई इरानी सुरक्षाकर्मीहरूले Qeshm Island बाट नियन्त्रणमा लिएका।

ख. १५ अप्रिल २०२६  का दिन इरानका लागि नेपाली अनररी कन्सल Shahram Shantiaee ले कतारस्थित नेपाली कार्यवाहक राजदूत श्री कुमार राईलाई “Dear Mr. Kumar today, with the follow-up efforts I fortunately received news of Mr. Amrit’s release. His release letter has been issued, and he is free as of today” भनी खबर पठाएको र उक्त बेहोरा माननीय परराष्ट्र मन्त्रीज्यू र सचिवज्यूलाई सम्बन्धित महाशाखा प्रमुखबाट प्रतिवेदन भएको। त्यहाँको विषम परिस्थितिबीच आफ्नो नागरिकका सम्बन्धमा तत्कालीन जनचासो र सञ्चार माध्यमबाट सोधिएको अवस्था एवम् निजको परिवारसमेतको जानकारीमा आइसकेको विषयलाई दृष्टिगत गर्दै सोही दिन मन्त्रालयबाट श्री झा रिहा हुनुभएको अनौपचारिक जानकारी प्राप्त भएको बारे विज्ञप्ति जारी गरिएको। उक्त जानकारीकै आधारमा माननीय परराष्ट्र मन्त्रीज्यूले आफ्नो सामाजिक सञ्जालबाट पनि यो विषय सार्वजनिक गर्नुभएको। साथै, निजलाई नेपाल फिर्ता ल्याउने प्रक्रिया पुरा गर्ने प्रयोजनका लागि नेपाली राजदूतावास, दोहालाई निज रिहा भएको लिखित प्रमाण उपलब्ध गराउन निर्देशन दिइएको। तर केही दिन पछि प्राप्त जानकारी अनुसार अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले Expert Report तयार गर्न भनेको। तत्पश्चात् परराष्ट्र मन्त्रीज्यूलगायतका अधिकारीहरूसँग मन्त्रालयमा भएको भेटमा निज झाका परिवारलाई  यी सबै तथ्यहरू जानकारी गराइसकिएको छ। 

ग. इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ।

घ. मन्त्रालयमा प्राप्त पछिल्लो जानकारी अनुसार Expert Report का लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ। इरानको स्थानीय अदालतमा विचाराधीन रहेको मुद्दाको निरूपण इरानको कानुनअनुसार हुने भएकोले उपलब्ध सबै माध्यमको प्रयोग गरी निज झाको निष्पक्ष सुनुवाइ लगायतका लागि निरन्तर कूटनीतिक पहलहरू जारी राखिएको छ।

_______
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८३ जेठ ४, सोमबार।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update