Harsamaya
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
सांकेतीक तस्वीरः हर समय/harsamaya

कञ्चनपुर - अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । 

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।

शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ ४ गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन् । अभिभावक, शिक्षक तथा विद्यार्थीको मागअनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि बिहान १०ः०० बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान ७ः०० बजेदेखि सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन् ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाइ हुने समस्या देखिन थालेपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरिएको हो । शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्यघण्टा नघट्ने गरी नियमित पठनपाठन र शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update