काठमाडौं - सभामुख डोल प्रसाद अर्यालले आगामी दिनमा प्रधानमन्त्री वा कोही पनि सांसदहरुलाई उपस्थिति गराउने कुनै आधार र अधिकार आफूले नदेखेको बताएका छन् ।
प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलले सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउने विषयमा आफूले छलफल मात्र गर्न सक्ने भन्दै आगामी दिनमा कसैलाई पनि उपस्थिति गराउने आधार र अधिकार आफूले नदेखेको बताएका हुन् ।
सांसदहरुको माग अनुसार आफूले प्रधानमन्त्रीसंग छलफल गर्ने र छलफलका निष्कर्ष बैठकलाई सुनाउने उनले प्रतिवद्धता जनाए ।
सभामुख अर्यालले जबरजस्ती सदन चलाउनको लागि बैठकमा बस्नुस् भनेर आफूले भनेको तर जनता र देश निर्माणको मुद्दामा सहमतिका साथ सदनलाई अघि बढाउन आग्रह मात्रै गरेको धारणा राखे ।
प्रधानमन्त्रीसंग सम्वाद गर्ने प्रतिवद्धता जनाएपछि बिपक्षी दलका सांसदहरुले निरन्तर सदन अवरुद्ध गरेका थिए । काँग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको अडान कायम राखे । विपक्षीको विरोधका कारण सभामुख अर्यालले दोश्रो बैठक पनि स्थगित भएको घोषणा गरेका थिए ।
त्यसअघि दोस्रो बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएका थिए ।

