Harsamaya
सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार बिहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को बीचमा ३५ वर्षीय बिजय घिमिरे(कामी) मृत अवस्थामा भेटिएका हुन् ।

पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका हुन् । बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनको छाती तथा नाडी नचलेको र सुन्य पल्सको अवस्था रहेको पाइएको थियो ।

शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाईडहरुले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेका थिए । खबर पाएलगत्तै ट्याग नेपालका टेण्डी शेर्पा (ठुलो टेण्डी)ले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटना स्थल पठाएका थिए ।

त्यपछि ट्याग नेपालबाट तत्काल हेलिकोप्टर उद्दारका लागि समन्वय गरी लुक्लाबाट अल्टिच्युट एयर प्रालिको हेलिकोप्टरमार्फत घिमिरेको उद्दार गरिएको थियो । घिमिरेको शरीरलाई लुक्ला पुर्याइएको विभागको फिल्ड अफिसले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update