काठमाडौं - प्रधानन्यायाधीश सिफारिसको विषय यतिबेला राजनीतिक र कानुनी वृत्तमा तीव्र विवादको केन्द्र बनेको छ। चौथो वरीयतामा रहेका मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएपछि पक्ष विपक्षमा बहस चर्किएको हो।
यसैबीच उपसभामुख रुबी कुमारी ठाकुरले उक्त सिफारिसको सार्वजनिक बचाउ गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत न्यायाधीश नियुक्ति दलगत भागबन्डा होइन, कार्यक्षमता र योग्यताको आधारमा हुनुपर्ने बताएकी हुन्।
ठाकुरले न्याय प्रणालीप्रति जनतामा वर्षौंदेखि असन्तुष्टि रहेको उल्लेख गर्दै मुद्दा फैसला हुन अत्यधिक समय लाग्नु गम्भीर समस्या भएको बताइन्। ‘हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भन्ने गुनासो व्यापक छ,’ उनले लेखेकी छन्।
उनले नियुक्तिमा दलगत प्रभाव हाबी हुँदा न्याय प्रणाली कमजोर बन्ने दाबीसमेत गरेकी छन्। ‘जब नियुक्ति कार्यक्षमता र योग्यताको आधारमा नभई दल वा पार्टीको आधारमा हुन्छ, त्यसको परिणाम पनि त्यस्तै देखिन थाल्छ,’ उनको भनाइ छ।
ठाकुरले वर्तमान सिफारिस संविधान, कानुन र जनहितलाई केन्द्रमा राखेर गरिएको दाबी गरेकी छन्। तर, चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै सरकारको निर्णयमाथि चौतर्फी प्रश्न उठिरहेको छ।
रोचक पक्ष के भने, ठाकुर आबद्ध श्रम संस्कृति पार्टी भित्रैबाट पनि असन्तुष्टि देखिएको छ। पार्टी अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ठाकुरप्रति असन्तुष्टि जनाएका छन्।
यसैक्रममा ठाकुरले सामाजिक सञ्जालमा विभिन्न न्यायाधीशहरूको कथित राजनीतिक निकटताबारे पनि उल्लेख गरेकी छन् । उनले च्याटजिपिटीको सहारामा न्यायाधीशहरूको सम्भावित दलगत निकटताबारे सूची सार्वजनिक गरेकी हुन्।
उनले सपना प्रधान मल्ल लाई एमाले निकट, कुमार रेग्मीलाई कांग्रेस निकट भनिने चर्चा रहेको उल्लेख गरेकी छन्। त्यसैगरी हरि प्रसाद फुयाँल पूर्व महान्यायाधिवक्ता भएकाले एमाले निकट मानिने चर्चा रहेको बताएकी छन्।
यद्यपि मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको स्पष्ट दलगत निकटता सार्वजनिक रूपमा नदेखिएको उनले उल्लेख गरिएको छ। उनले उक्त पोष्ट अहिले हटाइसकेकी छिन् ।
उपसभामुखजस्तो गरिमामय पदमा बसेर यस्ता हल्का कुरा गरेको भन्दै उनको बौद्धिकतामाथि प्रश्न उठेको छ । उनले आफ्नो गरिमाको ख्याल नगरेको भन्दै आलोचनासमेत भएको छ ।

